१९ बुँदे शंखरापुर घोषणापत्र जारी गर्दै १९ औँ साधारण सभा सम्पन्न
१९ बुँदे शंखरापुर घोषणापत्र जारी गर्दै प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा तथा २१ औँ कृष्णसेन ‘इच्छुक’ स्मृति दिवस सम्पन्न भएको छ ।
शनिवारदेखि काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा सुरु भएको साधारणसभा १९ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो ।
साधारण सभाले नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियान सञ्चालन गरेकोमा धन्यवाद दिँदै सदस्यता शुद्धीकरण अभियानको सफल कार्यान्वयनका लागि प्रेस सेन्टर नेपालले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल लगायतका निकायबाट प्रदान गरिने पत्रकार वृत्ति विकास अनुदान, सञ्चार उपकरण अनुदान, पुरस्कार तथा सम्मानलाई पारदर्शी, समावेशी बनाउन र त्यसको सूचना समयमै सबैले प्राप्त गर्ने गरी प्रवाह गर्न माग गरेको छ ।
यस्तै सञ्चारमाध्यम सरकार मातहतका कुनै एक निकायमा दर्ता भइसकेपछि त्यसलाई अन्यत्र समेतमा दर्ता वा नवीकरण गरिरहनुपर्ने झन्झटिलो व्यवस्था तत्काल खारेज गरी कुनै एक ठाउँको दर्तालाई नै आधार मानी कामकारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।
श्रमजीवी पत्रकार ऐन, २०५२ पूर्ण रूपमा कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले भर्खरै सिफारिस गरेको श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न सरकारसँग साधारण सभाले माग गरेको छ ।
विभिन्न तह र निकायबाट संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध हुने गरी विभिन्न ऐन, कानुन, नीति÷नियमावली बनाउने कार्य भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता कार्य तत्काल रोक्न पनि साधारण सभाले माग गरेको छ ।
महिला, दलित, जनजाति तथा सीमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियालाई विशेष प्रोत्साहन गर्न तीनै तहका सरकारसमक्ष ध्यानाकर्षण गराउनुका साथै सञ्चारलगायत सबै क्षेत्रमा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत सुनिश्चित गर्न पनि साधारण सभाले माग गरेको छ ।
यस्तै देशभरका श्रमजीवी पत्रकारलाई दुर्घटना बिमा, स्वास्थ्य बिमा अनिवार्य लागु गर्न ध्यानाकर्षण गराएको भने देशभरका अस्पतालमा पत्रकार र तीनका परिवारको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग पनि माग गरेको छ ।
प्रेस सेन्टर नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि विचलित नभईकन कानुनी कारबाही गर्न माग गर्दै मिटर ब्याजी पीडितको समस्या, भ्रष्टाचारका मुद्दा, प्रदेश नामकरणको विषयलाई लिएर प्रदेश नम्बर एकमा चलिरहेको पहिचानको राजनीतिक आन्दोलन लगायतलाई उचित सम्बोधन गर्न पनि साधारण सभामार्फत ध्यानाकर्षण गराएको छ ।
आन्तरिक कमी कमजोरीलाई सुधार गरी सङ्गठनलाई चुस्त, दुरुस्त बनाई मुलुककै सबैभन्दा ठुलो, सबैको साझा र विश्वासिलो सङ्गठन बनाउने दृढता पनि साधारण सभाले व्यक्त गरेको छ ।
परिवर्तनका लागि कलम चलाएकै भरमा पक्राउ परी हिरासतभित्र बीभत्स हत्या गरिएका सहिद कृष्णसेन ‘इच्छुक’प्रति श्रद्धापूर्वक स्मरण गर्दै उनले चलाएको परिवर्तनको अभियानलाई निरन्तरता दिने दृढ सङ्कल्प गरेको छ ।
साधारण सभाले सम्पूर्ण सहिद पत्रकार एवं जनमुखी आन्दोलनका योद्धाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता पारिएका दीपेन्द्र शर्मा ९दण्डपाणि न्यौपाने०, मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकाललगायत सम्पूर्ण सञ्चारकर्मीमा उच्च सम्मान व्यक्त गर्दै उनीहरूको यथार्थ अवस्था सार्वजनिक गर्न माग पनि गरेको छ ।